बारम्बार सोधिने प्रश्नहरु


  • 1ऋण लिन कस्तो तालिम आवश्यक पर्छ ?

    सरकारी निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था जुनसुकै निकायबाट लिइएको तालिमको प्रमाणपत्र ऋणका लागि मान्य हुनेछ । परम्परागत सीप भएका व्यक्तिले गर्ने व्यवसायका लागि भने तालिमको प्रमाणपत्र चाहिँदैन । तर, ऋण दिने बैङ्क तथा वित्तीय संस्थाले नै तोकिएको व्यापार व्यवसाय गर्न सक्ने वा नसक्ने भन्ने कुराको यकिन गरी ऋण प्रदान गर्नेछ ।

     
  • 2यस परियोजनामा जिल्लामा ककसले सहयोग गर्नेछन् ?

    नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत सबै जिल्लाका सदस्य सङ्घहरूलाई सहयोगी संस्थाका रूपमा तोकिएको छ । स्वयंसेवक वा सहयोगी संस्थाले कोषको उद्देश्य अनुरूपको कार्यक्रम प्रवद्र्धन गर्न अभिमुखीकरण कार्यक्रम, परियोजना विकाससम्बन्धी तालिम र अन्य प्रचारमुखी, चेतनामूलक कार्यक्रम सञ्चालन गर्नमा सहयोगीको भूमिका निर्वाह गर्नेछन् ।

  • 3व्यापार व्यवसायका लागि बजारको कस्तो व्यवस्था हुन्छ?

     ऋणीले उत्पादन गरेका वस्तुहरू सम्बन्धित क्षेत्रमा नै खपत हुन् भनेर त्यस्ता उत्पादित सामग्री जिल्लास्थित सहकारी संस्थाले खरिद गर्ने र वितरण गर्ने व्यवस्था गरिनेछ । त्यस्ता सामग्री अन्य जिल्लाका सहकारी संस्थाले पनि खरिद गर्नसक्ने व्यवस्था मिलाइनेछ ।

  • 4ऋण लिइएको व्यापार व्यवसायका लागि बीमाको व्यवस्था छ कि छैन?

    ऋणको भाका अवधिभित्र ऋणीको मृत्यु भएमा वा ऋणी स्थायी रूपमा अपाङ्ग भएमा वा भवितव्य परी सम्बन्धित परियोजनामा नोक्सान भएमा ऋणीको ऋण बीमा कम्पनीले तिर्ने व्यवस्था गरिनेछ। सम्बन्धित व्यापार व्यवसायको बीमाबापत लाग्ने प्रिमियम नेपाल सरकार, अर्थ मन्त्रालयले बेहोर्नेछ। तर, क्षतिको विवरण तथा सूचना आधिकारिक निकायबाट सिफारिस वा पुष्टि भएको हुनुपर्नेछ।

  • 5ऋण दुरुपयोग गर्नेलाई के हुन्छ?

    जुन उद्देश्य र प्रयोजनका लागि ऋण लिइएको हो, त्यसबमोजिम काम नगरी ऋणको दुरुपयोग गरेमा वा सयमा ऋणको साँवा, ब्याज भुक्तानी नगरेमा प्रचलित कानुनअनुसार ऋणीबाट साँवा, ब्याज असुलउपर गरिनेछ। साथै, कर्जा सूचना केन्द्रमा त्यस्ता व्यक्तिको नाम सूचीकृत गरी निजलाई खराब ऋणीमाथि हुने कारबाही गर्ने, राहदानी रोक्का गर्ने, कालोसूचीमा राख्ने, निर्वाचनमा उम्मेदवार बन्न नपाउने, समाजबाट बहिष्कार गर्ने तथा सरकारले प्रदान गर्ने सम्पूर्ण सेवाबाट वञ्चित गर्नेजस्ता विविध कारबाही गरिनेछ। यसका अतिरिक्त ऋणीको जुनसुकै सम्पत्ति वा जेथाबाट ऋण असुलउपर गर्न सकिनेछ।

  • 6कोषमार्फत् प्रदान गरिने ऋणमा धितोको कस्तो व्यवस्था छ?

    ऋण स्वीकृत भएपछि, जुन व्यापार व्यवसायका लागि ऋण लिइएको हो सोही व्यापार व्यवसाय नै ऋणको साँवा, ब्याज भुक्तानी नगरुन्जेलसम्मका लागि ऋणको सुरक्षणका रूपमा सम्बन्धित वित्तीय सस्थाले धितोका रूपमा राख्नेछ । यसका लागि ऋणी स्वय र निजको परिवारका सदस्य जमानी वा धितोका रूपमा बस्नुपर्छ। सम्पत्तिभन्दा व्यक्तिको इमान नै महत्वपूर्ण भएकाले यसमा व्यक्तिको चरित्र वा इमानलाई नै धितोका रूपमा राख्ने व्यवस्था गरिएको हो। साथै सहकारी सस्थाको व्यवस्थाअनुसार कर्जा सुरक्षण गर्न अन्य आवश्यक धितो राख्न सकिनेछ ।

  • 7कोषमार्फत् पाइने ऋणमा कति प्रतिशत ब्याज लाग्छ?

    स्वरोजगार कार्यक्रमअन्तर्गत पाइने कर्जामा लाग्ने ब्याजदर कर्जा लगानी गर्ने बैङ्क, वित्तीय सस्था वा सहकारीले नै तोक्दछg\। तर, कोषसग भएको सम्झौताअनुसार सम्बन्धित सस्थाको भाकाअनुसार समयमै ऋणीले किस्ता चुक्ता गरेमा सम्पूर्ण ऋण चुक्ता भएपछि त्यसमा लागेको ब्याजको साठी प्रतिशतरकम कोषले लगानी गरेका बैङ्क, वित्तीय संस्था र सहकारीहरूमार्फत्ऋणीलाई फिर्ता गरिनेछ।यी बैङ्क, वित्तीय संस्था र सहकारीहरूले त्यस्ता ऋणीहरूको सूची कोषलाई बुझाउनेछन् र कोषले तिनका दाबीहरूमाथि उचित अनुसन्धान र प्रमाणीकरण गरेपछि बैङ्क, वित्तीय संस्था र सहकारीहरूमार्फत् त्यस्ता ऋणीहरूलाई प्रदान गर्नेछ।

  • 8ऋण लिन कसरी आवेदन गर्ने?

    स्वरोजगार कोषमार्फत् कर्जा प्राप्त गर्न बेरोजगार युवाले कोषसँग कर्जा सम्झौता गरेको बैङ्क, वित्तीय संस्था वा सहकारीमा सम्पर्क गर्नुपर्छ। आवेदन दिँदा देहायका कागजपत्र संलग्न गरेको हुनुपर्छ:

    • अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र,
    • नागरिकताको प्रमाणपत्र,
    • आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना विवरण,
    • आफू र एकाघरका परिवारको सम्पत्ति विवरण।
  • 9कोषबाट कसले लाभ प्राप्त गर्छ?

    १८ देखि ६0 वर्षसम्मको उमेरका सबै शिक्षित, अर्धशिक्षित वा अशिक्षित, कुनै पनि पेसा, व्यवसाय र आयआर्जन कार्यमा सलग्न नभएका बेरोजगार व्यक्तिहरूले यसबाट लाभ प्राप्त गर्छन्।

  • 10कस्तो व्यवसायले ऋण पाउँछन्?
    • व्यावसायिक खेती तथा पशुपन्छीपालन, कृषि तथा वन्य उद्योग, घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय,
    • सहर‘बजार क्षेत्रमा रिक्सा, ठेलागाडालगायतका स्वरोजगारमूलक, सेवामूलक व्यवसाय,
    • परम्परागत सीपयुक्त व्यवसाय,
    • पर्यटन (home stay) सम्बन्धी व्यवसाय,
    • स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजना, उत्पादित क्षेत्रमा नै खपत गर्ने परियोजना र एक गाउँ एक उत्पादनसम्बन्धी परियोजनाका साथै द्वन्द्वपीडित व्यक्ति, अपाङ्ग, घाइते र सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालन हुने परियोजनाहरूलाई विशेष प्राथमिकता दिने ।

शर्त तथा नियमहरु

  • १. कोषले वित्तीय तथा सहकारी संस्थामार्फत लक्षित व्यक्ति, समुदायलाई सहुलियत व्याज दरमा विना धितो(कोषको नियमानुसार) कर्जा लगानी गर्ने हुनाले कोषको नियमको पूर्ण रूपमा पालना गर्नेछु/छौँै । कर्जा लगानी गर्दा व्यक्तिगत वा सामूहिक जमानी र परियोजना धितो राख्नका लागि सहमति छ ।
  • २. यो कर्जा व्यवसायमा प्रयोग गर्नेछु/छौँ ।
  • ३. कोषले तोकेको व्याजदरमा तोकेको समयमा साँवा तथा व्याज भुक्तानी गर्नेछु/छौँ ।
  • ४. कोषको कर्जा लिनका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नेछु/छौँ । साथै नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्र भएमा सोको प्रतिलिपि, तालिमको प्रमाणपत्र भएमा सोको प्रतिलिपि, पारिवारिक जमानी र समूह भएमा सामूहिक जमानी पत्र गर्नेछु/छौँ ।
  • ५. कोषले गर्ने व्यवसायी र व्यवसायको वीमासम्बन्धी र असल कर्जाग्राहीले नियमित रुपमा कर्जा तिरेवापत पाउने व्याज अनुदान सम्बन्धमा मेरो/हाम्रो सहमति छ ।
  • ६. कोषले तोकेको लक्षित समुदाय अन्तर्गत आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्वासी वा साना व्यवसायीमा पर्दछु ।
  • ७. व्यक्तिगत वा समूहगत रुपमा प्राप्त गरेको ऋण कोषको उद्देश्यअनुसार स्वरोजगारका लागि प्रयोग गर्नेछु/छाँै ।
  • ८. जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको उपयोग गर्नेछु/छौं ।
  • ९. कर्जा लिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा उपयोय गरेमा, कर्जाको दुरुपयोग गरेमा वा निर्धारित समयमा साँवा, व्याज भुक्तानी नगरेमा कोषले प्रचलित कानुुनबमोजिम साँवा, व्याज र हर्जनासमेतको रकम असुल गरेमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १०. कोषको कर्जा रकम नतिरेमा कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेमा, चल/अचल सम्पति रोक्का राखेमा, बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राखेमा वा नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गरेमा, कोषको नियम तथा प्रचलित कानुनबमोजिम कार्बाही गरेमा तथा मेरो/हाम्रो नाममा रोक्का रहेको अचल सम्पति प्रचलित कानुनबमोजिम लिलाम विक्री गरी कर्जा रकम असुल गरिलिएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • ११. कोषले कार्बाही गरी साँवा, ब्याज र हर्जना असुल गरेपछि कोषबाट पुनः कर्जा उपलब्ध नगराएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १२. प्राप्त भएका आशय पत्र पूर्ण नभरिएका, कोषको उद्देश्य तथा लक्ष्य सँग बाझिएमा स्वतः रद्द भएको मानिनेछ । आशय पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कोषमा निहित रहनेछ ।
  • १३. मेरो/हाम्रो कर्जा स्वीकृत भएमा कोषले तोकेको वित्तीय संस्था वा सहकारी संस्थाहरुको सर्तनामा अनुसार ऋण लिन र बुझाउन तयार छु/छौं ।

मैले/हामीले पेश गरेको उपरोक्त विवरण साँचो हो झुटो ठहरेमा प्रचलित कानुनबमोजिम सहुँला/बुझाँउला ।