अध्यक्षको मन्तव्य
माननीय मन्त्री विराज भक्त श्रेष्ठ
नेपालको समग्र विकासमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने राज्यको नीति रहेको छ । स्वावलम्बी तथा आत्मनिर्भर युवाले नै देशको अवस्थालाई सार्थक तुल्याउनसक्ने विश्वास छ । युवा नै देशको आवश्यकता पूर्ति गर्ने साध्य र साधन दुबै हो । तसर्थ युवा स्वरोजगार कोषमार्फत् नेपाली युवाहरूलाई नवप्रवर्धन तथा उद्यमशीलतासँग जोड्न हरसम्भव प्रयास गर्नेछु ।
एकातिर युवाहरूले नेपालमा भविष्य नदेख्नु, अर्कातर्फ देशमै भविष्य खोजेका युवाहरूले उचित सीप र स्रोतप्राप्त गर्न नसक्नु हालको विडम्बना हो । यस्तो अवस्थालाई न्यूनीकरण गर्न र धेरैभन्दा धेरै युवाहरूलाई उत्पादनसँग जोडी आत्मनिर्भर बनाउन मैले मन्त्रालय सम्हालेदेखि नै गम्भीरताकासाथ यसतर्फ प्रयत्न गरिरहेको छु ।
युवाहरूको निम्ति उचित वातावरण बनाउन विद्यमान कानुनको संशोधन तथा नयाँ नीति र कानुन निर्माण गरेर प्रभावकारी संरचनामार्फत् अगाडि बढ्न अत्यावश्यक छ र, त्यसको लागि पहल गर्नेछु ।
नेपाली युवाहरूमा रहेको क्षमता, सिर्जनशीलता र जोशलाई उजागर गर्दै राष्ट्रनिर्माणमा युवाको योगदानलाई विस्तार गर्ने लक्ष्यमा यहाँहरू सबैको साथ र सहयोगको अपेक्षासमेत गरेको छु ।
नेपालको जय होस् !!
माननीय विराजभक्त श्रेष्ठ
मन्त्री, युवा तथा खेलकुद मन्त्रालय